एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन : सदस्यलाई धारणा राख्न तीन मिनेट

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन मंगलबार केन्द्रीय सदस्यहरूले अध्यक्षको राजनीतिक प्रतिवेदन तथा पार्टीका समसामयिक विषयमा धारणा राख्ने क्रम शुरु भएको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा बिहान ९ बजेदेखि बैठक सञ्चालन भएको हो।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार प्रत्येक केन्द्रीय सदस्यलाई आफ्नो धारणा राख्न बढीमा तीन मिनेट समय निर्धारण गरिएको छ। सदस्यहरूले पार्टीको अवस्था, अध्यक्षको राजनीतिक प्रतिवेदन, जनतासँगको सम्बन्ध र समसामयिक राजनीतिक विषयमा सुझाव तथा टिप्पणी प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
सोमबार शुरु भएको बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। मंगलबार उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूको धारणा लिने तथा पार्टीको साङ्गठनिक संरचनासम्बन्धी कार्यसूची अघि बढाउने तयारी गरिएको छ।
बैठकमा केन्द्रीय कमिटी सदस्यको मनोनयन, विभिन्न विभागको गठन, पोलिटब्युरो तथा स्थायी कमिटी गठनलगायतका विषय समावेश छन्। सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च र अनुशासनसम्बन्धी विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ।
पार्टीका पदाधिकारीहरूको जिम्मेवारी बाँडफाँट तथा साङ्गठनिक संरचनासम्बन्धी निर्णय बैठकको आगामी चरणमा अघि बढाउने तयारी रहेको जनाइएको छ। केन्द्रीय कमिटीको बैठक असोज ७ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ।





