डाटा सेन्टरको समस्या समाधानपछि नेप्सेमा नियमित शेयर कारोबार पुनः सञ्चालन हुने

ड्रागन मिडिया सम्वाददाता
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यले प्रयोग गर्ने डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि मंगलबारदेखि नियमित धितोपत्र कारोबार पुनः सञ्चालन हुने भएको छ। कारोबार प्रणालीमा सम्भावित जोखिम देखिएपछि सोमबार स्थगित गरिएको शेयर कारोबार प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएसँगै पूर्ववत् रूपमा सञ्चालन गर्ने निर्णय भएको हो।
नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा उत्पन्न समस्या समाधान भएको जानकारी प्राप्त भएको छ। त्यसपछि नेप्सेले मंगलबारदेखि नियमित कारोबार सञ्चालन गर्ने तयारी गरेको हो।
डाटा सेन्टरमा समस्या देखिएपछि सोमबार धितोपत्रको नियमित कारोबार स्थगित गरिएको थियो। समस्या समाधान नभई कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा थप जोखिम उत्पन्न हुन सक्ने आकलनका आधारमा कारोबार रोकिएको जनाइएको छ।
नेपाल धितोपत्र बोर्डले कारोबार स्थगनको घटनालाई गम्भीरतापूर्वक लिँदै नेप्सेलाई प्राविधिक समस्या र त्यसबाट उत्पन्न जोखिमबारे अध्ययन तथा जाँचबुझ गर्न निर्देशन दिएको छ। बोर्डले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय पहिचान गरी प्रतिवेदन पेस गर्नसमेत भनेको छ।
घटनाको निरीक्षणका लागि बोर्डले उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय टोली खटाएको छ। टोलीले कारोबार अवरुद्ध हुनुको प्राविधिक कारण, प्रणालीको सुरक्षा तथा आगामी दिनमा अपनाउनुपर्ने सुधारात्मक उपायका विषयमा अध्ययन गर्नेछ।
डाटा सेन्टरको तत्कालीन समस्या समाधान भए पनि अवरोधको मूल प्राविधिक कारण र कारोबार प्रणालीमा रहेको सम्भावित जोखिमको विस्तृत पहिचान हुन बाँकी छ। यस घटनाले धितोपत्र बजारको नियमित सञ्चालनका लागि भरपर्दो सूचना प्रविधि पूर्वाधार, वैकल्पिक प्रणाली र प्रभावकारी जोखिम व्यवस्थापनको आवश्यकतालाई पुनः उजागर गरेको छ।





