६ आश्विन २०८३, मंगलवार

लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन र चैनपुरा सबस्टेसन सञ्चालनमा

ड्रागन मिडिया सम्वाददाता

सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्म निर्माण गरिएको लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ। प्रसारण लाइनसँगै चैनपुरामा निर्माण गरिएको १३२/३३/११ केभी सबस्टेसन पनि सञ्चालनमा ल्याइएको छ।

चैनपुरा सबस्टेसनमा १३२/३३ केभीका ३० एमभीए क्षमताका दुईवटा र ३३/११ केभीको २४ एमभीए क्षमताको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ। यससँगै सबस्टेसनको कुल क्षमता ८४ एमभीए पुगेको छ। स्थानीय क्षेत्रमा विद्युत वितरणका लागि सबस्टेसनबाट ३३ केभीका पाँचवटा र ११ केभीका छवटा फिडर निकालिएका छन्।

प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि सर्लाहीको मलंगवा, हरिपुर, हरिपूर्वा, डुमरिया र बरहथवालगायत क्षेत्रमा विद्युत आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ। नयाँ पूर्वाधारले विद्युत चुहावट घटाउन तथा न्यून भोल्टेज र बारम्बार हुने विद्युत विच्छेदजस्ता समस्या न्यूनीकरण गर्न सहयोग गर्नेछ। यसले स्थानीय क्षेत्रमा बढ्दो विद्युत माग व्यवस्थापन गर्दै समग्र आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउने विषयलाई प्राधिकरणले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनका अनुसार विद्युत प्रसारण तथा वितरण प्रणालीका पूर्वाधार विस्तार र सुदृढीकरणका काम योजनाबद्ध रूपमा अगाडि बढाइएको छ।

करिब २० किलोमिटर लामो प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि २०७९ चैतमा एक अर्ब १२ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौता २०८० वैशाखदेखि कार्यान्वयनमा आएको थियो। आयोजना नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण गरिएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button