राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धी प्रतिवेदनको मस्यौदा प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेश गरिएको छ। मंगलबार बसेको समिति बैठकमा समिति सचिव दशरथ धमलाले तयार गरिएको प्रतिवेदनको मस्यौदा सभापति ओजस्वी शेरचनसमक्ष पेश गरेका हुन्।
समितिले दिएको निर्देशनअनुसार सम्बन्धित निकाय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी मस्यौदा तयार गरिएको सचिव धमलाले बताए। समितिमा भएको छलफल, उठाइएका विषय र सभापतिबाट निष्कर्षका रूपमा प्रस्तुत निर्णयलाई प्रतिवेदनमा समेटिएको उनले जानकारी दिए। सचिवालयले विधेयकमा एउटा नयाँ परिच्छेद र चारवटा दफा थप्नुका साथै एउटा दफा हटाएको जनाएको छ।
राष्ट्रिय सभाले विधेयकमा गरेका र समितिले यसअघि नै स्वीकार गरिसकेका संशोधनलाई प्रतिवेदनमा दोहोर्याइएको छैन। राष्ट्रिय सभाबाट भएका संशोधनमाथि समितिले थप परिमार्जन गरेका विषय भने मस्यौदामा समेटिएका छन्। तयार गरिएको प्रतिवेदनमाथि बुधबारको समिति बैठकमा छलफल गरी पारित गर्ने तयारी छ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई व्यवस्थित कानुनी आधार प्रदान गर्ने उद्देश्यले अघि बढाइएको विधेयकले अपराध अनुसन्धान तथा न्याय सम्पादनसँग सम्बन्धित जैविक तथा गैरजैविक वस्तु, प्रमाण, लिखत, भौतिक सामग्री र विद्युतीय वस्तुको वैज्ञानिक परीक्षणसम्बन्धी व्यवस्था समेट्छ। विधेयकमा प्रयोगशालाको स्थापना, काम, कर्तव्य र अधिकार, सञ्चालक समिति, परीक्षण व्यवस्था, कार्यकारी निर्देशक तथा कर्मचारी, कोष, लेखा र लेखापरीक्षणलगायतका विषय समावेश छन्।





