६ आश्विन २०८३, मंगलवार

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्।

प्रधानमन्त्री शाह उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ। उनले सेप्टेम्बर २४ अर्थात असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय साधारण बहसलाई सम्बोधन गर्नेछन्।

न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न उच्चस्तरीय कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारी सहभागी हुनेछन्।

प्रधानमन्त्री शाह असोज १० गते अर्थात सेप्टेम्बर २६ मा स्वदेश फर्किने कार्यक्रम छ। उनको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीका रूपमा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button