६ आश्विन २०८३, मंगलवार

बबरमहलमा आकाशे पुल निर्माणले गति लियोबबरमहलमा आकाशे पुल निर्माणले गति लियो

ड्रागन मिडिया सम्वाददाता

काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि निर्माणाधीन आकाशे पुलको कामले गति लिएको छ। माइतीघर–बानेश्वर सडकखण्डमा पैदलयात्रुको चाप बढ्दै गएपछि सुरक्षित र सहज रूपमा सडक पार गर्ने व्यवस्था मिलाउन आकाशे पुल निर्माण भइरहेको हो।

जिल्ला अदालत अगाडिको जेब्राक्रसबाट दैनिक ठूलो संख्यामा पैदलयात्रुले सडक पार गर्ने गरेका छन्। अत्यधिक सवारी चापका कारण आकाशे पुल नहुँदा पैदलयात्रुले जोखिम मोलेर सडक पार गर्नुपर्ने अवस्था छ। करिब एक वर्षअघि निर्माण प्रक्रिया शुरु भएको पुलमा अहिले संरचना तयार गर्ने, फलामे संरचना जडान गर्ने तथा अन्य निर्माण कार्य तीव्र रूपमा भइरहेको छ।

बबरमहलसँगै सवारीसाधन र पैदलयात्रुको उच्च चाप रहने मीनभवन क्षेत्रमा पनि आकाशे पुल निर्माण अघि बढाइएको छ। व्यस्त सडकमा पैदलयात्रुको सुरक्षा बढाउने र सवारी आवागमनलाई व्यवस्थित बनाउने उद्देश्यले सरकारले दुवै स्थानमा पुल निर्माणका लागि बजेट विनियोजन गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रणनीतिक सडकअन्तर्गत बबरमहलमा आकाशे पुल निर्माणका लागि दुई करोड ५० लाख रुपैयाँ र मीनभवन क्षेत्रमा निर्माणका लागि चार करोड रुपैयाँ बजेट छुट्याएको छ। पुल निर्माण सम्पन्न भएपछि पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न पाउने र सडकमा पैदलयात्रु तथा सवारीसाधनबीच हुने द्वन्द्व घटेर यातायात व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button