६ आश्विन २०८३, मंगलवार

भरत दाहाल पक्राउ प्रकरणमा सर्वोच्चको कारण देखाऊ आदेश

ड्रागन मिडिया सम्वाददाता

सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको छ। दाहाललाई रिहा गर्न माग गर्दै उनकी छोरी डेनिकाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

सरकारविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका दाहालमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिनको म्याद लिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले उनीमाथि अनुसन्धानका लागि अदालतबाट उक्त म्याद लिएको हो। उनीमाथि लागेको आरोपको सत्यता भने अनुसन्धान र न्यायिक प्रक्रियाबाट निर्क्योल हुन बाँकी छ।

दाहाललाई आइतबार मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित सलकपुरबाट प्रहरीले पक्राउ गरेको थियो। राजनीतिक छलफल तथा कार्यक्रममा सहभागी हुन असोज २ गते कोशी प्रदेशतर्फ गएका उनी शनिबारको कार्यक्रम सकेर आइतबार काठमाडौं फर्किने तयारीमा रहेका बेला सलकपुरस्थित चिया पसलबाट पक्राउ परेका थिए।

दाहालमाथि अमेरिकी अनलाइन प्रकाशन ‘द ग्रेजोन’ले नेपालमा भएको जेनजी आन्दोलनबारे प्रकाशित गरेको प्रतिवेदन सामाजिक सञ्जालमार्फत प्रसार गरेको विषयमा अनुसन्धान भइरहेको बताइएको छ। उनले भदौ २७ गते अर्थात सेप्टेम्बर १२ मा ‘अमेरिकी पत्रिकामा अर्को विस्फोट’ शीर्षक राखेर उक्त प्रतिवेदन सामाजिक सञ्जालमा साझा गरेका थिए।

दाहालको हिरासतलाई चुनौती दिँदै उनकी छोरीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि विषय न्यायिक परीक्षणमा प्रवेश गरेको छ। सर्वोच्चको कारण देखाऊ आदेशसँगै अब सम्बन्धित सरकारी निकायले उनलाई पक्राउ गरी हिरासतमा राख्नुको कानुनी आधार अदालतसमक्ष पेश गर्नुपर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button