६ आश्विन २०८३, मंगलवार

टीकापुर घटनामा रेशम चौधरीलाई दिइएको सजाय माफी सर्वोच्चबाट सदर

ड्रागन मिडिया सम्वाददाता

टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिएको बाँकी कैद सजाय माफी गर्ने निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ। मंगलबार न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले माफीविरुद्ध दायर रिट निवेदन खारेज गरेपछि राष्ट्रपतिबाट गरिएको सजाय माफी कायम भएको हो।

चौधरीलाई टीकापुर घटनामा संलग्नता ठहर गर्दै जन्मकैदको सजाय सुनाइएको थियो। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले २०८० सालको गणतन्त्र दिवसका अवसरमा उनको बाँकी कैद सजाय माफी गरेका थिए।

राष्ट्रपतिको उक्त निर्णयविरुद्ध टीकापुर घटनामा मारिएका तत्कालीन प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कठायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। रिटमाथि अन्तिम सुनुवाइ गर्दै सर्वोच्चले मंगलबार निवेदन खारेज गरेको हो।

२०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो।

सर्वोच्चको पछिल्लो निर्णयले चौधरीको दोषसिद्धि वा उनलाई सुनाइएको मूल जन्मकैदको फैसला उल्ट्याएको भने होइन। अदालतले राष्ट्रपतिबाट दिइएको बाँकी कैद सजाय माफीविरुद्ध परेको रिट खारेज गरेको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button