६ आश्विन २०८३, मंगलवार

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनमन्त्री पौडेलद्वारा बिदाइ

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसँघको ८१ औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाहसहित सात सदस्यीय टोली मङ्गलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत दोहा हुँदै न्यूयोर्कतर्फ प्रस्थान गरेको हो।

प्रधानमन्त्री शाहलाई विमानस्थलमा गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले बिदाइ गरेका थिए। प्रधानमन्त्रीले यसपटक परम्परागत औपचारिक बिदाइ समारोह र सम्मानगारद नलिई सीमित टोलीसहित भ्रमण गर्ने व्यवस्था मिलाएका छन्।

प्रधानमन्त्रीसँग प्रस्थान गर्ने टोलीमा उनका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार अधिकारी कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, शिष्टाचार अधिकृत महेश यादव तथा सुरक्षाकर्मीका रूपमा लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट र प्रहरी नायब उपरीक्षक दिपेश बस्याल रहेका छन्।

परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै न्यूयोर्क पुगेर महासभाअन्तर्गतका उच्चस्तरीय बैठक तथा द्विपक्षीय भेटवार्तामा सहभागी भइरहेका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि नेपाली प्रतिनिधिमण्डलमा सहभागी छन्।

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसँघ महासभाको उच्चस्तरीय आमबहसलाई सम्बोधन गर्ने कार्यक्रम छ। न्यूयोर्क बसाइका क्रममा उनले संयुक्त राष्ट्रसँघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो। महासभासम्बन्धी कार्यक्रम सम्पन्न गरी उनी सेप्टेम्बर २६ मा स्वदेश फर्कने कार्यक्रम छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button