१६ आश्विन २०८३, शुक्रबार

गैँडाकोटमा तटबन्धले जोगायो बस्ती, केही स्थान मर्मत गर्नुपर्ने

ड्रागन मिडिया सम्वाददाता

नारायणी नदीमा पछिल्ला ६० वर्षयताकै ठूलो बाढी आएको भनिएको यसपटक गैँडाकोटका अधिकांश बस्ती तटबन्धका कारण जोगिएका छन्। नदीको जलसतह असोज ११ गते देवघाटस्थित मापन केन्द्रमा ११ दशमलव ९३ मिटर पुगेको थियो। स्थानीयका अनुसार, विगतमा योभन्दा सानो बाढी आउँदा पनि डुबान र कटान हुने क्षेत्रमा यसपटक ठूलो क्षति भएन।

नारायणी पुलदेखि दक्षिणतर्फ नदी किनारमा बनाइएको करिब पाँच किलोमिटर लामो तटबन्धले गैँडाकोटका वडा नम्बर २, ५, ६, ७ र ९ का बस्ती तथा खेतीयोग्य जमिन जोगाउन मद्दत गरेको स्थानीयले बताएका छन्। नदी कटान रोक्न करिब एक हजार ५०० मिटर क्षेत्रमा ठूला ढुङ्गा राखिएको छ भने अन्य भागमा कङ्क्रिट तटबन्ध बनाइएको छ।

स्थानीय मनोज परियारका अनुसार, तटबन्धका ढुङ्गा नाघेर बाढीको छाल घरसम्म पुगे पनि बस्तीमा ठूलो क्षति हुन पाएन। गैँडाकोट–६ का राजेन्द्र थापाले अघिल्ला वर्षमा बाढी आउँदा सुरक्षित ठाउँ खोजेर जानुपर्ने अवस्था रहेकामा यसपटक घरमै बस्न सकेको बताए। स्थानीय खगीसरा रानाले तटबन्ध बनेपछि नदी कटानबाट जग्गा जोगिएको बताइन्।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा नवलपुरतर्फ नदी किनारमा तटबन्ध निर्माण गरेको थियो। गैँडाकोट–६ का वडाध्यक्ष शुभाष चापागाईँका अनुसार, नदी किनारलाई भिरालो पारेर बनाइएको संरचनाले बाढीको बहाव व्यवस्थापन गर्न सहयोग गरेको छ।

यद्यपि, कङ्क्रिट तटबन्धका केही भागमा बाढीले क्षति पुर्‍याएको र त्यसको मर्मत आवश्यक रहेको चापागाईँले बताए। पुलको उत्तरतर्फ तटबन्ध नहुँदा वडा नम्बर २ को एउटा बस्ती डुबानमा परेको स्थानीयको भनाइ छ। बाढीबाट जोगिएका क्षेत्रमा समेत तटबन्धको नियमित निरीक्षण र कमजोर भागको समयमै मर्मत गर्नुपर्ने देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button