१६ आश्विन २०८३, शुक्रबार

दसैँ नजिकिँदै, धरानमा खसीबोकाको कारोबार बढ्यो

ड्रागन मिडिया सम्वाददाता

दसैँ नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच बढेको छ। कोशी प्रदेशका पहाडी जिल्ला र तराईका विभिन्न स्थानबाट किसान तथा व्यापारी खरिदबिक्रीका लागि बजार पुगिरहेका छन्। यहाँ बिहीबार र शुक्रबार विशेष रूपमा खसीबोकाको बजार लाग्छ।

धरान–१४ का दलबहादुर कथाय १५ वर्षदेखि खसीबोकाको व्यापार गर्दै आएका छन्। उनले घरमै पालेका खसीबोकासँगै धनकुटा र पाँचथरलगायत पहाडी जिल्लाबाट ल्याइएका खसीबोका पनि बिक्री गर्छन्। उनका अनुसार, बजारको व्यवस्थापन राम्रो भएकाले व्यापार गर्न सहज छ र यही व्यवसायबाट घरखर्च चलेको छ।

मोरङको कानेपोखरीका चन्द्र खड्का प्रत्येक साता खसीबोका किन्न धरान आउँछन्। उनले एकपटकमा १०० देखि १५० वटासम्म खरिद गर्दै आएका छन्। २३ वर्षदेखि यस व्यवसायमा संलग्न खड्काले धरानबाट ल्याएका खसीबोका काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवा र पोखरालगायत सहरमा बिक्री गर्छन्।

धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार, बजारमा सामान्यतया हप्तामा तीन हजारभन्दा बढी खसीबोका बिक्री हुन्छन्। दसैँ र तिहारको समयमा यो सङ्ख्या हप्तामा १० हजारभन्दा बढी पुग्ने गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा बजारबाट एक लाख ६० हजार खसीबोका बिक्री हुँदा करिब तीन अर्ब रुपैयाँको कारोबार भएको उनले बताए।

गत वर्ष चाडपर्वको अवधिमा ४६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। यस वर्ष खसीबोकाको कारोबार अघिल्ला वर्षको तुलनामा १५ प्रतिशत बढिसकेको र चाडपर्वमा थप वृद्धि हुन सक्ने भट्टराईको भनाइ छ। पहाडी जिल्लाका किसानलाई बजार उपलब्ध गराउँदै धरानको कृषि उपज बजारले स्थानीय व्यापार र रोजगारीमा पनि योगदान पुर्‍याएको उनले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button