प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक आज, विधेयक र प्रतिवेदन कार्यसूचीमा
ड्रागन मिडिया सम्वाददाता
सङ्घीय संसद्का दुवै सदनका बैठक आज बस्दैछन्। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराह्न १:१५ बजे सिंहदरबारमा बस्नेछ।
प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले पेस गर्ने कार्यसूची छ। प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ प्रस्तुत गर्नेछिन्।
मन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यक्रम छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले फोहरमैला व्यवस्थापन विधेयक, २०८३ समितिमा पठाउने प्रस्ताव गर्नेछन्।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले यस क्षेत्रसँग सम्बन्धित केही नेपाल ऐन संशोधन गर्ने विधेयक समितिमा पठाउन प्रस्ताव गर्नेछिन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रणसम्बन्धी पहिलो संशोधन विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी पहिलो संशोधन विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी दोस्रो संशोधन विधेयक र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक पारित गर्ने सम्भावित कार्यसूची छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार दस वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूबाट प्राप्त सूचना सभाको स्वीकृतिका लागि पेस गर्नेछन्। राष्ट्रपतिबाट प्राप्त पत्र पनि सभामुखले पढेर सुनाउने कार्यक्रम छ।
राष्ट्रिय सभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले पेस गर्नेछन्। प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक, २०८१ मा प्रतिनिधिसभाले गरेको संशोधन स्वीकार गर्ने प्रस्ताव प्रस्तुत हुनेछ। बैठकमा आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ पारित गर्ने सम्भावित कार्यसूचीसमेत छ।





