१९ आश्विन २०८३, सोमबार

एसियाली खेलकुदमा चीन शीर्ष स्थानमा, नेपाल दुई कांस्य पदकमा सीमित

ड्रागन मिडिया सम्वाददाता

जापानको आइची–नागोयामा १६ दिनसम्म चलेको २०औँ एसियाली खेलकुद आइतबार सम्पन्न भएको छ। समापन समारोहमा आयोजक जापानले एसियाली ओलम्पिक परिषद्को झन्डा र ओलम्पिक टर्च सन् २०३० मा खेलकुद आयोजना गर्ने कतारलाई हस्तान्तरण गरेको छ। आगामी संस्करण कतारको दोहामा हुनेछ।

प्रतियोगितामा खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी १७ हजारभन्दा बढी सहभागी भएका थिए। एसियाका ४५ देश र एक शरणार्थी टोलीका १० हजारभन्दा बढी खेलाडीले ४३ खेल विधाका ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

चीन १६९ स्वर्ण, ८९ रजत र ८३ कांस्यसहित कुल ३४१ पदक जितेर तालिकाको शीर्ष स्थानमा रह्यो। आयोजक जापानले ८३ स्वर्ण, ९५ रजत र ९१ कांस्यसहित २६९ पदक जितेर दोस्रो भयो। दक्षिण कोरिया ३९ स्वर्ण, ४३ रजत र ६८ कांस्यसहित १५० पदकका साथ तेस्रो स्थानमा रह्यो। भारतले २१ स्वर्णसहित कुल ८५ पदक जितेर चौथो स्थान हासिल गर्‍यो।

नेपालले प्रतियोगितामा दुई कांस्य पदक जित्यो। महिला कबड्डी टोली र करातेका तेन्जिङ शेर्पाले नेपालका लागि पदक हासिल गरे। स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्य राखेको नेपाली टोलीको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button