१९ आश्विन २०८३, सोमबार

चीनमा राष्ट्रिय दिवसको बिदामा उपभोग बजार स्थिर रूपमा विस्तार

ड्रागन मिडिया समाचार कक्ष

चीनको सातदिने राष्ट्रिय दिवस बिदाको मध्यसम्म उपभोक्ता खर्च स्थिर रहेको छ। अक्टोबर १ देखि ३ सम्म वाणिज्य मन्त्रालयले निगरानी गरेका ७८ प्रमुख किनमेल सडक र व्यापारिक क्षेत्रमा मानिसको आवागमन अघिल्लो वर्षको सोही अवधिभन्दा ३.४ प्रतिशत र कारोबार ५.३ प्रतिशतले बढेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

पुराना उपभोग्य वस्तु साटेर नयाँ किन्ने सरकारी कार्यक्रमबाट तीन दिनमा १९ अर्ब ६३ करोड युआन बराबरको बिक्री भएको छ। यसबाट ३४ लाख ८० हजारभन्दा बढी उपभोक्ता लाभान्वित भएका छन्। कार्यक्रमअन्तर्गत ४६ हजार सवारीसाधन साटिएका छन्, जसबाट नयाँ सवारीसाधनको ७ अर्ब ४५ करोड युआन बराबरको बिक्री भएको छ। यसै अवधिमा १५ लाख १० हजार घरेलु उपकरणको बिक्री ६ अर्ब ५० करोड युआन र १७ लाख १० हजार डिजिटल तथा बौद्धिक उपकरणको बिक्री ४ अर्ब ९० करोड युआन पुगेको छ।

राष्ट्रिय दिवसको बिदा चीनमा यात्रा, पर्यटन र किनमेलको मुख्य मौसममध्ये एक हो। सात दिनमा विभिन्न क्षेत्रबीच २ अर्ब १३ करोड यात्रु आवागमन हुने, अर्थात् दैनिक औसत ३० करोड यात्रा हुने अनुमान अधिकारीहरूले गरेका छन्। अक्टोबर १ मा मात्रै रेलबाट २ करोड ५२ लाख यात्रुले यात्रा गरेका थिए। यो एकै दिनको कीर्तिमान हो।

यात्रुको चाप व्यवस्थापन गर्न चीनले व्यस्त मार्गमा थप रेल सेवा सञ्चालन गरेको छ र बिदाभरि निजी सवारीसाधनलाई राजमार्ग शुल्कमा छुट दिएको छ। संस्कृति तथा पर्यटन मन्त्रालयले सेप्टेम्बरको अन्त्यमा एक महिनाको राष्ट्रिय पर्यटन प्रवर्द्धन अभियान पनि शुरु गरेको छ।

स्थानीय सरकारले प्राकृतिक गन्तव्य भ्रमण, शरदकालीन घुमफिर, क्रान्तिकारी इतिहाससँग सम्बन्धित पर्यटन, अध्ययन भ्रमण, रात्रिकालीन गतिविधि र स्थानीय खानासम्बन्धी २० हजारभन्दा बढी कार्यक्रम आयोजना गरेका छन्। पर्यटन खर्च बढाउन एक महिनाभरिमा करिब ३१ करोड युआन बराबरका उपभोग कुपन र अनुदान वितरण गर्ने योजना पनि अघि सारिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button