१९ आश्विन २०८३, सोमबार

संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित

ड्रागन मिडिया सम्वाददाता

सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई संवेदनशील सुरक्षा सूचना चुहावट गरेको र आचरणविपरीत काम गरेको आरोपमा निलम्बन गरिएको छ। आरोपबारे तीन दिनभित्र जाँचबुझ गरी प्रतिवेदन बुझाउन गृह मन्त्रालयले समिति गठन गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्दराज काफ्लेका अनुसार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट कारबाहीका लागि सिफारिस आएपछि दाहाललाई निलम्बन गरिएको हो। मन्त्रालयले चुहावट भएको भनिएको सूचनाको प्रकृति भने खुलाएको छैन।

सशस्त्र प्रहरीका एक उच्च अधिकृतलाई उद्धृत गर्दै कान्तिपुरले दाहालमाथि असोज ११ गते अनुमति नलिई पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न गएको आरोप रहेको जनाएको छ। जबरालाई सुरक्षा चुनौती रहेको भन्दै प्रहरीले महाराजगञ्जस्थित निवासबाट मध्यराति उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुर्‍याएको थियो। दाहाल जबराका नातेदार रहेको दाबी पनि सशस्त्र प्रहरीका केही उच्च अधिकारीले गरेका छन्।

सशस्त्र प्रहरी प्रधान कार्यालयले दाहालको पदावधि एक वर्ष थप्न गत बुधबार मन्त्रालयमा सिफारिस गरेको थियो। उनी असोज २७ गते चार वर्षे पदावधि पूरा गरी अवकाशमा जाने तयारीमा थिए। पदावधि थप नभए उनी अवकाशमा जानेछन्। आरोपबारे जाँचबुझको प्रतिवेदनपछि मन्त्रालयले थप निर्णय गर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button