कांग्रेस पदाधिकारीमा पुरानै अनुहारको बाहुल्य, केन्द्रीय सदस्यमा युवाको दबाब

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीका प्रतिस्पर्धीमध्ये अनुभवी नेताको बाहुल्य देखिएको छ भने केन्द्रीय सदस्यमा युवाको उल्लेख्य उम्मेदवारी परेको छ। नेतृत्व व्यवस्थापनका लागि यसपटक पार्टी पदाधिकारीको सङ्ख्या १४ बाट बढाएर २५ पुर्याइएको छ।
सभापतिमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्। विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई निर्विरोध हुन नदिन आफूले उम्मेदवारी दिएको खड्गीले बताएका छन्। उनको उम्मेदवारी हारजितभन्दा आन्तरिक लोकतन्त्रलाई जीवन्त बनाउने उद्देश्यले आएको उनको भनाइ छ। राठौरले भने पराजित भए पनि १६औँ महाधिवेशनमा सभापति जित्ने तयारी रहने बताएका छन्।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भएका छन्। समावेशी उपसभापतिको एक पदका लागि जीवन परियार, विनोद चौधरी, फरमुल्ला मन्सुर, सीता गुरुङ र रञ्जित कर्णसहित पाँच जनाको उम्मेदवारी परेको छ। खुला उपसभापतिमा मीनेन्द्र रिजाल, गोविन्द भट्टराई, चन्द्र भण्डारी, धनराज गुरुङ र सुरेन्द्रराज पाण्डेसहित नौ जना प्रतिस्पर्धामा छन्।
तीन महामन्त्री पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन्। खुला दुई पदमा आठ र महिला पदमा तीन जनाको उम्मेदवारी परेको छ। महिला महामन्त्रीका लागि यसपटक पहिलोपटक आरक्षण गरिएको हो। सहमहामन्त्रीका १५ पदमध्ये चार र कोषाध्यक्षको एक पद सभापतिले मनोनयन गर्ने व्यवस्था छ; बाँकी पद महाधिवेशनबाट निर्वाचित हुनेछन्।
केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका युवाका लागि २१ सिट छुट्याइएको छ। १८ वर्षीया अभीप्सा पौडेलले बागमती प्रदेशबाट युवा महिला समूहमा उम्मेदवारी दिएकी छन्। युवाले आरक्षित समूहबाहेकबाट पनि उम्मेदवारी दिएका छन्। नेता देवराज चालिसेले ठूलो सङ्ख्यामा युवाको उम्मेदवारीले नयाँ कार्यसमितिमा उनीहरूको प्रभाव बढ्ने बताए।
महाधिवेशनबाट पदाधिकारीबाहेक २११ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने ६६ सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ। कुल २९७ सदस्यीय कार्यसमितिमा युवाको सहभागिताका लागि गरिएको आरक्षण र खुला प्रतिस्पर्धाले नयाँ नेतृत्वको बनोटमा प्रभाव पार्ने देखिएको छ।





