७ मंसिर २०८३, आईतवार

प्रधानमन्त्री शाह नयाँ दिल्ली प्रस्थान, मोदीसँग सोमबार व्यापार र ऊर्जासहितका विषयमा वार्ता हुने

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आइतबार दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा गएका शाहले ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्।

भ्रमणको पहिलो दिन आइतबार भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोमबार मंसिर ७ गते शाह र मोदीको नेतृत्वमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सीमापार सम्पर्क सञ्जाल र पूर्वाधार विकासमा सहकार्य विस्तारबारे छलफल हुनेछ।

भ्रमणका क्रममा ऊर्जा र सम्पर्क सञ्जालसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद व्यवस्थापन र मानव संसाधन विकासमा सहकार्यका लागि दुई देशबीच समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।

प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। सोमबार उनी नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागी छन्। टोलीमा स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, सञ्चार व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक विनय शाक्य पनि छन्। उच्च सरकारी अधिकारी, व्यवसायी र सरकारी सञ्चारमाध्यमका तीन प्रतिनिधि पनि भ्रमण टोलीमा सहभागी छन्।

प्रधानमन्त्री शाह सोमबार साँझ ६ बजेर ३५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कने तालिका छ। प्रतिनिधिमण्डल फर्किएपछि परराष्ट्रमन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणबारे जानकारी दिनेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button