७ मंसिर २०८३, आईतवार

सेवाग्राही बढेपछि सल्यान प्रशासनमा बिहान ८ बजेदेखि रातिसम्म सेवा

ड्रागन मिडिया सम्वाददाता

दसैंतिहारपछि सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय सल्यानले बिहान ८ बजेदेखि राति ९–१० बजेसम्म सेवा दिइरहेको छ। दसैंअघि दैनिक करिब १५० जना आउने कार्यालयमा अहिले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रलगायतका सेवा लिन दैनिक ३५० देखि ४०० जनासम्म पुग्ने गरेका छन्।

प्रमुख जिल्ला अधिकारी बन्दना कुमारी केसीका अनुसार नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने, विदेश जान राहदानी लिने र लोकसेवाका लागि सिफारिस लिन आउनेको संख्या बढेको छ। कालीमाटी गाउँपालिका–७ घुईयाबारीबाट एकैपटक धेरै सेवाग्राही आएपछि शुक्रबार सबैको काम सकिएन। बाँकी काम पूरा गर्न कार्यालय शनिबार पनि बिहान १० बजेदेखि खोलिएको उनले कान्तिपुरलाई बताइन्।

केसीका अनुसार तीन दिनमा कार्यालयले ४०५ वटा नयाँ नागरिकता र २३८ वटा नागरिकताको प्रतिलिपि वितरण गरेको छ। सोही अवधिमा ४५० जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी आनन्द विष्टले सीमित कर्मचारीले एउटै दिन धेरै प्रकारका सेवा दिनुपर्दा कामको चाप बढेको बताए। दुर्गम बस्तीबाट आएका सेवाग्राहीले काम नसकिएर खलंगामा बास बस्नुपर्ने अवस्था कम गर्न कार्यालय समयपछि र बिदाका दिन पनि सेवा दिइएको उनको भनाइ छ।

घुईयाबारीबाट शुक्रबार आएका नवीन बोहोराले भीडका कारण त्यस दिन काम नसकिएपछि शनिबार नागरिकता लिएको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button