अपराध अनुसन्धानमा मोबाइल प्रमाण, तर नियन्त्रणको सीमा के?

ड्रागन मिडिया सम्वाददाता
नेपाल प्रहरीले अपराध अनुसन्धानमा मोबाइलबाट प्राप्त संवाद, आर्थिक कारोबार, कागजात र खोजी विवरणलाई महत्वपूर्ण प्रमाणका रूपमा लिने गरेको जनाएको छ। प्रहरी प्रवक्ता अविनारायण काफ्लेले आवश्यकताअनुसार मोबाइल नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक प्रयोगशालामा परीक्षण गरिने बताए।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले प्रमाण नष्ट गर्न, सूचना चुहाउन वा अनुसन्धान प्रभावित पार्न सक्ने भएकाले मोबाइल नियन्त्रणमा लिनुपर्ने अवस्था आउन सक्छ। केन्द्रीय अनुसन्धान ब्यूरोका पूर्वप्रमुख उत्तमराज सुवेदीले पनि मोबाइलबाट संवाद, दैनिक गतिविधि र अनुसन्धानका सुराक फेला पर्न सक्ने बताए। तर घटनासँग सम्बन्ध नभएको अवस्थामा मोबाइल नियन्त्रणमा लिनु उचित नहुने उनको भनाइ छ।
सुवेदीका अनुसार फरार व्यक्तिको खोजी भइरहेको वा घटनासँग सम्बन्धित प्रमाण जुटाउनुपर्ने अवस्थामा मोबाइल परीक्षण उपयोगी हुन सक्छ। तर सबै घटनामा मोबाइल जाँच आवश्यक नहुन सक्छ। सीआईबीका पूर्वप्रमुख हेमन्त मल्ल ठकुरीले अभियोग लागेका व्यक्तिको अनुसन्धानमा मोबाइल लिनुपर्ने अवस्था हुन सक्ने भए पनि सुरक्षा प्रयोजनका लागि मात्र नियन्त्रणमा लिइएको व्यक्तिको मोबाइल जफत गर्दा प्रश्न उठ्ने बताए।
प्रहरीको एक मुद्दा शाखामा कार्यरत अधिकृतका अनुसार अनुसन्धानको वास्तविक आवश्यकता र राजनीतिक दबाबबीच भिन्नता छुट्याउन व्यवहारमा कठिनाइ हुन सक्छ। कतिपय घटनामा राजनीतिक नेतृत्वको स्वार्थ जोडिँदा प्रहरीमाथि आदेश पालना गर्न दबाब पर्ने उनको भनाइ छ।
मल्ल ठकुरीले राजनीतिक नेतृत्वको आदेश भए पनि कानुनी तथा अनुसन्धानगत आधारबिना व्यक्तिको सञ्चार साधन नियन्त्रणमा लिन नहुने बताए। मोबाइल अनुसन्धानमा उपयोगी प्रमाण हुन सक्ने भए पनि त्यसको प्रयोग घटनासँगको सम्बन्ध र वास्तविक आवश्यकतामा सीमित हुनुपर्ने पूर्वप्रहरी अधिकारीहरूको धारणा छ।





