हिन्दु राष्ट्र स्थापनाको माग संसद र सडकबाट उठाउन ओलीको आग्रह

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले नेपाललाई हिन्दु राष्ट्र बनाउने माग संसद र सडक दुवैबाट उठाउनुपर्ने बताएकी छन्। नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन कार्यक्रममा उनले मठमन्दिरमा आउने राजनीतिक दलका नेताहरूसमक्ष यो माग राख्न धार्मिक गुरुहरूलाई आग्रह गरिन्।
देशसञ्चारका अनुसार ओलीले गौहत्या, गाईको तस्करी र हिन्दु समुदायमाथि हुने हिंसाका घटनाविरुद्ध सार्वजनिक रूपमा आवाज उठाउनुपर्ने बताइन्। हिन्दु समुदायका सरोकारलाई पर्याप्त रूपमा उठाउन नसक्दा सनातन धर्मावलम्बीको विश्वास कमजोर हुँदै गएको उनको भनाइ थियो।
ओलीले राप्रपाले हिन्दु राष्ट्र स्थापनाको माग संसदमा उठाउने बताउँदै धार्मिक गुरुहरूलाई पनि संसदबाहिर यो विषयमा आवाज उठाउन आग्रह गरिन्।





