वर्षाले कांग्रेसको बन्दसत्र प्रभावित, प्रतिनिधिलाई खुलामञ्च पुग्न कठिन

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र बुधबार अचानक आएको हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ। खुलामञ्चमा जारी बन्दसत्रमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई कठिन भएको छ।
प्रवक्ता देवराज चालिसेका अनुसार बन्दसत्रमा विभिन्न प्रस्ताव र प्रतिवेदनमाथिको छलफल टुंग्याएर पारित गर्ने कार्यतालिका थियो। बिहान साढे १० बजे सुरु गर्ने भनिएको सत्रलाई साढे ११ बजेका लागि सारिएको थियो, तर मौसम प्रतिकूल भएपछि कार्यक्रम प्रभावित भयो।
आजको कार्यक्रमपछि सभापति गगन थापाले प्रतिनिधिहरूलाई सम्बोधन गर्ने र त्यससँगै बन्दसत्रको छलफल औपचारिक रूपमा टुंग्याउने तयारी छ। राजनीतिक, संगठनात्मक र आर्थिक प्रतिवेदन पारित भएपछि महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्नेछ।
बन्दसत्र खुलामञ्चमा, खाना व्यवस्थापन भृकुटीमण्डपमा र निर्वाचन समितिको काम राष्ट्रिय सभागृहमा भइरहेको छ। नेतृत्व चयनका लागि मतदान भोलि बिहानदेखि गर्ने तालिका छ। सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौर प्रतिस्पर्धामा छन्।





