हिन्दू–बौद्ध कलापरम्परा समेटिएको ‘दैविक सौन्दर्य’ प्रदर्शनी सुरु

ड्रागन मिडिया सम्वाददाता
सिद्धार्थ आर्ट ग्यालरीको ३९औँ वार्षिकोत्सवका अवसरमा ‘दैविक सौन्दर्य’ शीर्षकको कला प्रदर्शनी सुरु भएको छ। बबरमहल रिभिजिटेडस्थित ग्यालरीमा मंगलबारदेखि सुरु भएको प्रदर्शनीमा ३५ कलाकारका परम्परागत चित्र तथा मूर्तिकला राखिएका छन्।
प्रदर्शनीका क्युरेटर प्रदीप शाक्यका अनुसार उपत्यकामा पुस्तौँदेखि चलिआएको कला परम्परा झल्काउने चित्र र धातु, काठ तथा ढुंगामा बनाइएका हिन्दू र बौद्ध देवीदेवताका कलाकृति प्रदर्शनीमा समेटिएका छन्। प्रदर्शित कलाले नेपाली कलाको इतिहास, शैली, सीप र वैचारिक पक्ष उजागर गरेको उनले बताए।
हिन्दू र बौद्ध परम्पराका कलाकृतिलाई एउटै थलोमा प्रस्तुत गरेर प्रदर्शनीले उपत्यकामा लामो समयदेखि रहँदै आएको धार्मिक सहअस्तित्व र सांस्कृतिक सहिष्णुता देखाएको शाक्यको भनाइ छ। उनले यी कलाकृति व्यक्तिगत प्रतिभासँगै पारिवारिक सीप र पुर्ख्यौली ज्ञानबाट पुस्तान्तरण हुँदै आएको सम्पदा भएको बताए।
ग्यालरीका संस्थापक संगीता थापाले प्रदर्शनीले नेपाली परम्परागत कलाको ऐतिहासिक र सांस्कृतिक वैभवलाई एकै ठाउँमा चिनाएको बताइन्। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव देवेन्द्र थुम्केलीले प्रदर्शनीले नेपाली समाजमा कला, धर्म, संस्कृति र जनजीवनबीचको सम्बन्ध उजागर गरेको बताए।
सन् १९८७ मा काठमाडौंको कान्तिपथस्थित प्रताप भवनबाट सुरु भएको सिद्धार्थ आर्ट ग्यालरी सन् १९९८ मा बबरमहल रिभिजिटेडमा सरेको थियो। ग्यालरीले हालसम्म स्वदेश तथा विदेशमा ६ सयभन्दा बढी कला प्रदर्शनी र गतिविधि आयोजना गरेको जनाएको छ।





