संविधान र व्यवस्था जोगाउन आन्दोलन गर्नुपर्ने हुनसक्छ : महेन्द्र यादव

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका नेता तथा तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले संविधान र व्यवस्था जोगाउन आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले बालेन शाह नेतृत्वको सरकारलाई ‘सन्काहा’ भन्दै संविधान र व्यवस्था मास्न सक्ने आरोप लगाए।
“अहिलेको विषम राजनीतिक परिस्थितिमा प्रजातन्त्र र संविधान जोगाउन भोलि हामीले आन्दोलन गर्नुपर्ने हुनसक्छ, जेल जानुपर्ने हुन सक्छ। त्यसका लागि पनि तयार रहनुस्,” यादवले भने। उनले तरुण दललाई सजग र एकताबद्ध रहन आग्रह गर्दै पार्टी, संविधान र तरुण दल जोगाउने जिम्मेवारी रहेको बताए।
यादव नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेसी समूहबाट सहमहामन्त्रीका उम्मेदवार छन्। उनले आफ्नो उम्मेदवारीलाई समर्थन गर्न तरुण दलका प्रतिनिधिसँग आग्रहसमेत गरे।





