अपडेट : जबरासहित निकटस्थ र नातेदारका घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

ड्रागन मिडिया सम्वाददाता
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनीनिकट व्यक्तिहरू र नातेदारका निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको जबराको पारिवारिक स्रोतले जनाएको छ। यसअघि प्रकाशित समाचारमा जबराको निवास तथा नारायण दाहाल, दीपक तिमल्सिना र नवीन बस्नेतका घरमा टोली पुगेको उल्लेख थियो।
पारिवारिक स्रोतका अनुसार बुधबार विभागको टोली जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालका निवासमा पुगेको थियो। जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ पर्ने नवीन बस्नेतको घरमा पनि छापा मारिएको स्रोतले बताएको छ। छापाका क्रममा महत्त्वपूर्ण कागजात बरामद गरिएको पनि पारिवारिक स्रोतको भनाइ छ।
प्रहरीले केही दिनअघि जबरालाई पक्राउ गरी करिब १२ घण्टापछि रिहा गरेको थियो।





