नेपाल–रुस परामर्श बैठकमा रुसी सेनामा रहेका र बेपत्ता नेपालीका विषयमा छलफल

ड्रागन मिडिया समाचार कक्ष
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श बैठक बुधबार काठमाडौंमा सम्पन्न भएको छ। कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा भएको बैठकमा दुवै देशबीचको सम्बन्धका समग्र पक्षको समीक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।


बैठकमा रुसको सेनामा रहेका नेपाली नागरिक, बेपत्ता नेपाली, युक्रेनमा युद्धबन्दीका रूपमा थुनिएका नेपाली र क्षतिपूर्तिसम्बन्धी विषयमा छलफल भएको थियो। क्षेत्रीय तथा बहुपक्षीय विषय, जलवायु परिवर्तन र बहुपक्षीय प्रणालीमा सहकार्यमाथि पनि दुवै पक्षले धारणा आदानप्रदान गरेका थिए।


दुवै देशले लामो समयदेखिको मित्रता र निकट साझेदारीको प्रशंसा गर्दै शिक्षा, मानव संसाधन विकास, संस्कृति, पर्यटन, जलवायु परिवर्तन, व्यापार र लगानीलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राय र रुसी प्रतिनिधिमण्डलको नेतृत्व रुसी विदेश मन्त्रालयका उपमन्त्री आन्द्रेई रुडेन्कोले गरेका थिए। नेपाल र रुसी विदेश मन्त्रालयबीच परामर्शसम्बन्धी प्रोटोकलमा सन् १९९५ सेप्टेम्बर ५ मा हस्ताक्षर भएको थियो।





