२१ आश्विन २०८३, बुधबार

सामूहिक सुरक्षा सन्धि संगठन स्थापनाको २४ वर्ष : क्षेत्रीय सहकार्य विस्तारमा जोड

ड्रागन मिडिया समाचार कक्ष

सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ) को बडापत्रमा हस्ताक्षर भएको अक्टोबर ७ मा २४ वर्ष पूरा भएको छ। रुस, आर्मेनिया, बेलारुस, कजाकिस्तान, किर्गिस्तान र ताजिकिस्तान सदस्य रहेको संगठनले क्षेत्रीय शान्ति, स्थिरता र सामूहिक सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको रुसी पक्षले जनाएको छ।

संगठनको बडापत्रले सदस्य राष्ट्रहरूको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकताको सामूहिक रक्षा तथा शान्ति र स्थिरता सुदृढीकरणलाई मुख्य उद्देश्य मानेको छ। सन् २०२६ मा रुसले “बहुध्रुवीय विश्वमा सामूहिक सुरक्षा : साझा लक्ष्य, साझा जिम्मेवारी” भन्ने नारासहित संगठनको अध्यक्षता गरिरहेको छ।

सीएसटीओले सङ्कट रोकथाम र समाधान, क्षेत्रीय स्थिरतामाथिका चुनौती तथा खतराको सामना, सामूहिक फौजको तयारी सुदृढीकरण र विदेशनीतिसम्बन्धी समन्वयलाई प्राथमिकता दिएको छ। संगठनको सुरक्षा क्षमता बढाउन रुसी सशस्त्र बलको अनुभव उपयोग भइरहेको छ। चेल्याबिन्स्क क्षेत्रमा सेप्टेम्बर र अक्टोबरमा भएका संयुक्त सैन्य अभ्यासमा सदस्य राष्ट्रका सामूहिक फौज सहभागी छन्।

जैविक तथा सूचना सुरक्षाका क्षेत्रमा सहकार्य विस्तार भइरहेको छ। सदस्य राष्ट्रका सुरक्षा निकायहरूले आतङ्कवाद, लागुऔषधको अवैध कारोबार, अवैध आप्रवासन र साइबर अपराधविरुद्ध सञ्चालन गरेका कारवाहीबाट परिणाम प्राप्त भइरहेको रुसी पक्षको भनाइ छ।

संयुक्त राष्ट्रसङ्घ, स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल र सांघाई सहयोग संगठनसँगको सहकार्य पनि सीएसटीओको प्राथमिकतामा छ। संगठनले सन् २००४ देखि संयुक्त राष्ट्रसङ्घ महासभामा पर्यवेक्षकको हैसियत पाएको छ। मध्य एसिया र अफगानिस्तानको सुरक्षा विषयमा सीएसटीओ, स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल र सांघाई सहयोग संगठनको संयुक्त सम्मेलन अक्टोबर १५ र १६ मा मस्कोमा हुँदैछ।

सीएसटीओ सदस्य राष्ट्रका विदेशमन्त्री, रक्षामन्त्री र सुरक्षा परिषद्का सचिवहरूको संयुक्त बैठक तथा सामूहिक सुरक्षा परिषद्को बैठक नोभेम्बर १० र ११ मा मस्कोमा बस्ने तय भएको छ। बैठकमा संगठनको सामूहिक सुरक्षा प्रणाली सुदृढ गर्ने निर्णयमा हस्ताक्षर गर्ने तयारी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button