पुटिनको ७४औँ जन्मदिनमा विश्व नेताहरूबाट शुभकामना, पौडेलद्वारा नेपाल–रुस मित्रता विस्तारको कामना

ड्रागन मिडिया समाचार कक्ष
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ७४औँ जन्मदिनका अवसरमा विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुख, अन्तर्राष्ट्रिय संगठनका नेता र सार्वजनिक एवं राजनीतिक व्यक्तित्वबाट शुभकामना सन्देश तथा तार प्राप्त गरेका छन्।
पुटिनलाई टेलिफोनमार्फत अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ, आर्मेनियाका प्रधानमन्त्री निकोल पसिन्यान, बेलारुसका राष्ट्रपति अलेक्जान्दर लुकाशेन्को, इरानका राष्ट्रपति मसुद पेजेस्कियान, कजाकिस्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभ, किर्गिस्तानका राष्ट्रपति सदिर जापारोभ, ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोन, टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोगान, तुर्कमेनिस्तानका राष्ट्रपति सर्दार बेर्दिमुहामेदोभ र उज्बेकिस्तानका राष्ट्रपति शौकत मिर्जियोयेभले शुभकामना दिएका छन्।
यस अवसरमा नेपाल–चीन पारस्परिक सहयोग समाजका संस्थापक अध्यक्ष तथा पत्रकार प्रेमसागर पौडेलले पनि राष्ट्रपति पुटिनलाई जन्मदिनको शुभकामना सन्देश पठाएका छन्। सन्देशमा उनले पुटिनको नेतृत्वमा आधुनिक रुसको रूपान्तरण, राष्ट्रिय सार्वभौमिकताको रक्षा र विश्व मामिलामा रुसको भूमिका सुदृढ भएको उल्लेख गरेका छन्।
पौडेलले सन् १९९० को दशकको कठिन संक्रमणपछि रुसी राज्यका संस्थालाई सबल बनाउन, राजनीतिक स्थिरता कायम राख्न र विदेश नीतिमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न पुटिनको नेतृत्वले निर्णायक भूमिका खेलेको बताएका छन्। सार्वभौम समानता, आपसी सम्मान र राष्ट्रहरूले आफ्नै निर्णय गर्ने अधिकारको पक्षमा पुटिनले निरन्तर आवाज उठाएकाले बहुध्रुवीय विश्व व्यवस्थाबारेको बहसलाई योगदान पुगेको उनको भनाइ छ। यस्तो दृष्टिकोणले नेपालजस्ता साना तथा विकासशील देशका राष्ट्रिय हित र स्वतन्त्र नीतिगत छनोटको महत्त्वसमेत उजागर गर्ने पौडेलले बताएका छन्।
“यस विशेष अवसरमा महामहिमलाई सुस्वास्थ्य, दीर्घायु र रुस तथा रुसी जनताको सेवामा निरन्तर सफलता मिलोस् भन्ने कामना गर्दछु। रुस र नेपालबीचको ऐतिहासिक मित्रता तथा पारस्परिक सहकार्य अझ सुदृढ र विस्तारित होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु,” पौडेलको सन्देशमा उल्लेख छ।





