२२ आश्विन २०८३, बिहीबार

करदाताको रकमबाट चुनावी शैलीका विज्ञापन चलाएको आरोपमा ट्रम्प प्रशासनविरुद्ध मुद्दा

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकी डेमोक्रेटिक पार्टीको राष्ट्रिय समितिले करदाताको रकमबाट चुनावी शैलीका टेलिभिजन विज्ञापन प्रसारण गरेको आरोप लगाउँदै राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ। समितिले सरकारी विनियोजित रकम प्रचार वा राजनीतिक उद्देश्यमा खर्च गर्न नपाइने संघीय कानुनको उल्लङ्घन भएको दाबी गरेको छ।

बुधबार वासिङ्टनस्थित संघीय अदालतमा दायर मुद्दामा राष्ट्रपति ट्रम्प, ह्वाइट हाउस कार्यालय, व्यवस्थापन तथा बजेट कार्यालय र गृह सुरक्षा विभागलाई प्रतिवादी बनाइएको छ। समितिको उजुरीमा ट्रम्पले विज्ञापन प्रसारणका लागि व्यक्तिगत रूपमा निर्देशन दिएको आरोप पनि लगाइएको छ।

उजुरीअनुसार, सेप्टेम्बरको अन्तिम सातादेखि प्रसारण हुन थालेका विज्ञापनले ट्रम्प र मध्यावधि चुनावसम्बन्धी उनका सन्देशको प्रचार गरेका छन्। एउटा विज्ञापन सन् २०२४ को चुनावी विज्ञापनसँग लगभग उस्तै रहेको र प्रत्येक विज्ञापनको अन्त्यमा “अमेरिकी सरकारको खर्चमा” भन्ने उल्लेख रहेको समितिको दाबी छ।

सरकारी रकम प्रयोग गरेर यस्ता विज्ञापन चलाउँदा रिपब्लिकन उम्मेदवारलाई सार्वजनिक स्रोतबाट थप सहयोग पुगेको र निष्पक्ष चुनावी प्रतिस्पर्धामा असर परेको समितिले जनाएको छ। यसले डेमोक्रेटिक पार्टी र उसका उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा घाटा पुगेको पनि उजुरीमा उल्लेख छ।

ट्रम्पले सोमबार सामाजिक सञ्जालमार्फत विज्ञापनको खर्च आफूले र आफूले जुटाएको म्यागा इन्कको रकमबाट बेहोर्ने बताएका थिए। तर, मुद्दामा विज्ञापन अझै “अमेरिकी सरकारको खर्चमा” भन्ने उल्लेखसहित प्रसारण भइरहेको आरोप लगाइएको छ।

रोयटर्स/इप्सोसको सोमबार सार्वजनिक सर्वेक्षणमा ट्रम्पको समर्थन दर ३२ प्रतिशत देखिएको थियो, जुन सेप्टेम्बरको सर्वेक्षणकै स्तर र उनको राजनीतिक जीवनकै न्यूनतम दर हो। मध्यावधि चुनावी प्रचारका लागि ट्रम्पले अक्टोबर १ देखि सुरु गरेको ३२ दिने भ्रमणमा अन्तिम चार साताभित्र कम्तीमा १० राज्य पुग्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button