दोहोरो नागरिकता भएकालाई राष्ट्रपति र गभर्नर बन्न रोक्ने संवैधानिक संशोधनमा मेक्सिकोको हस्ताक्षर

ड्रागन मिडिया समाचार कक्ष
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले दोहोरो नागरिकता भएका व्यक्तिलाई राष्ट्रपति, राज्यका गभर्नर वा मेक्सिको सिटीको सरकार प्रमुखमा उम्मेदवार बन्न रोक्ने संवैधानिक संशोधनसम्बन्धी आदेशमा बुधबार हस्ताक्षर गरेकी छन्।
संसदका दुवै सदनबाट पारित र आवश्यक सङ्ख्यामा राज्यका संसदबाट अनुमोदित आदेश बुधबार सङ्घीय राजपत्रमा प्रकाशित हुने तय भएको थियो। राजपत्रमा प्रकाशित भएपछि आदेश लागू हुनेछ, तर नयाँ व्यवस्था सन् २०२८ को निर्वाचन प्रक्रियादेखि कार्यान्वयनमा आउनेछ।
राष्ट्रपति भवनमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा हस्ताक्षर गरेपछि शेनबाउमले भनिन्, “आज हामीले राष्ट्रपति वा गभर्नरले दोहोरो नागरिकता राख्न नपाउने व्यवस्था भएको आदेशमा हस्ताक्षर गरेका छौँ।”
संशोधनअनुसार, ती पदमा उम्मेदवारी दिन चाहनेले निर्वाचन अधिकारीसमक्ष उम्मेदवारी दर्ता गर्नुअघि अन्य देशको नागरिकता त्याग्नुपर्नेछ।
राष्ट्रपतिकी कानुनी सल्लाहकार लुइसा मारिया आल्काल्देका अनुसार, विदेशी हस्तक्षेप रोक्ने उद्देश्यले सरकारको पहलमा यो व्यवस्था ल्याइएको हो।





