२२ आश्विन २०८३, बिहीबार

मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमणका विकल्प तयार पार्न पेन्टागनलाई निर्देशन

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण गर्न सक्ने विकल्प तयार पार्न ह्वाइट हाउसले पेन्टागनलाई निर्देशन दिएको द अटलान्टिकले जनाएको छ। प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार, आक्रमण गर्ने वा नगर्ने, त्यसको दायरा र सम्भावित लक्ष्यबारे अझै छलफल भइरहेको छ। यसबारे अन्तिम निर्णय भएको छैन।

द अटलान्टिकका अनुसार, हालैका सातामा पेन्टागनले निर्वाचनपछि सैन्य कारवाही पुनः शुरु गर्ने विकल्प पनि राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको थियो। ती विकल्पमा इरानका ऊर्जा केन्द्रमाथि आक्रमण पनि समावेश छ। प्रशासनका स्रोतहरूले ट्रम्प निर्वाचनअघि इन्धनको मूल्य घटाउन र द्वन्द्वमा प्रगति भएको देखाउन चाहेको बताएका छन्।

सीमित आक्रमणका समर्थकहरूले पनि त्यसले मात्रै इरानलाई वार्तामा ल्याउन, होर्मुज जलडमरूमध्यको जलयातायात पुनःस्थापित गर्न वा निर्वाचनअघि इन्धनको मूल्य घटाउन नसक्ने स्वीकार गरेको समाचारमा उल्लेख छ। उनीहरूको तर्कमा, आक्रमणले ट्रम्पको शक्ति प्रदर्शन गर्न र रिपब्लिकन उम्मेदवारलाई चुनावमा सहयोग गर्न सक्छ। त्यसपछि मध्यावधि निर्वाचनलगत्तै ठूलो सैन्य कारवाही हुन सक्ने र आठ महिनादेखि जारी द्वन्द्व पुनः चर्किन सक्ने ट्रम्पले बताएका छन्।

ट्रम्पले आफ्ना सहयोगीलाई इरानमाथि नयाँ आक्रमण गर्न आफू तयार रहेको स्पष्ट पारेको स्रोतहरूले बताएका छन्। तर उनका सल्लाहकारहरूले निर्वाचनअघि आक्रमण गर्दा युद्ध र इन्धनको मूल्यवृद्धि मतदाताको ध्यानमा आउने तथा रिपब्लिकन दललाई थप राजनीतिक क्षति पुग्न सक्ने भन्दै निर्वाचनपछि उपयुक्त समय हुने ठानेका छन्।

आक्रमण भए मध्यपूर्वमा रहेका करिब ५० हजार अमेरिकी सैनिक र खाडी क्षेत्रका सहयोगी मुलुक प्रतिकारको जोखिममा पर्नेछन् र अमेरिकी हतियार भण्डार थप घट्नेछ। ट्रम्पका धेरै समर्थक घरेलु मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकाले युद्धबाट पछि हट्नुपर्ने पक्षमा रहेको समाचारमा उल्लेख छ। तर आक्रमणले उल्टै मुद्रास्फीति बढाउन सक्ने द अटलान्टिकले जनाएको छ। अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार, केही समय रोकिएको आक्रमण पुनः शुरु हुँदा तेलको मूल्य सामान्यतया बढ्ने गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button