ओबामा, बाइडेन र क्लिन्टनविरुद्ध कारवाही नगरेको ट्रम्पको भनाइ

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामा र जो बाइडेन तथा पूर्वराष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनविरुद्ध कारवाही गर्न सक्ने भए पनि नगरेको बताएका छन्। उनले राष्ट्रपति पदको सम्मानका कारण उनीहरूमाथि कदम नचालेको बताए।
“मैले बाइडेन, हिलारी क्लिन्टन र बराक हुसेन ओबामाविरुद्ध कदम चाल्ने अवसर पाएको थिएँ, अझै पनि छ,” ट्रम्पले पत्रकारसँग भने। उनीहरूविरुद्ध “धेरै कडा कदम चाल्न सक्ने” भए पनि त्यसो गर्नु अनुचित ठानेको उनको भनाइ थियो। ट्रम्पले ती सम्भावित कदमको प्रकृति भने स्पष्ट पारेनन्।
आफूवरिपरिका मानिसहरूले उनीहरूमाथि कारवाही गर्न आग्रह गरेको पनि ट्रम्पले बताए। “धेरैले ‘जाऔँ, उनीहरूलाई कारवाही गरौँ’ भने। मैले ‘होइन, राष्ट्रपति पदसँग त्यसो गर्न मिल्दैन’ भनेँ,” उनले सुनाए।
रिपब्लिकन पार्टीका ट्रम्पले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका थिए। उनी यसअघि सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति थिए। सन् २०१६ को निर्वाचनमा उनले क्लिन्टनलाई हराएका थिए।





