कुनौटा भीरमा सडक जोडियो, सवारी चल्न अझै एक–दुई दिन लाग्ने
ड्रागन मिडिया सम्वाददाता
बाढीपहिरोले अवरुद्ध बेनी–जोमसोम–कोरला सडकको चुनौतीपूर्ण कुनौटा खण्डमा दुवैतर्फबाट सडक जोडिएको छ। तर सडकलाई सवारी चलाउन योग्य बनाउन अझै एक–दुई दिन लाग्ने आयोजना प्रमुख तेजस्वी शर्माले बताएका छन्।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित कुनौटामा असोज ११ गते कालीगण्डकी नदीको बाढीले करिब २५० मिटर सडक कटान गरी बगाएको थियो। चार दिनको कामपछि बुधबार सडकका दुवै छेउ जोडिएको र अहिले माटो भर्ने, सतह मिलाउने तथा सडक फराकिलो बनाउने काम भइरहेको शर्माले बताए। बुधबार त्यहाँ छ वटा एक्साभेटर र छ वटा टिपर परिचालन गरिएका थिए।
असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरोले पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि बेनी हुँदै कोरला नाकासम्म जाने २०२ किलोमिटर सडकका ५५ ठाउँमा क्षति पुर्याएको थियो। तीमध्ये १० ठाउँमा बाढीले सडक कटान गरेको थियो। मालढुङ्गादेखि कुनौटासम्म र कोरलादेखि पोखरेबगर पुलसम्म ठूला सवारी चल्ने गरी मर्मत भएको छ। रातोपानी, धीरच्याङ, भीरकाटे, महभीर, तिप्ल्याङ र बेगखोलामा पहिरो हटाउने तथा सडक सुधार्ने काम जारी छ।
पोखरेबगर पुलको बाढीले बगाएको पहुँचमार्गमा ग्याबियन पर्खाल बनाएर सडक जोड्ने काम भइरहेको छ। आयोजना प्राविधिक विनोद पौडेलका अनुसार उक्त खण्डसहित सडक सञ्चालनमा ल्याउने लक्ष्य सोमबारसम्मको छ। सडक विभाग र निर्माण व्यवसायीका १५ एक्साभेटर, १२ टिपर र १५ लोडरसहितका उपकरण विभिन्न स्थानमा परिचालन गरिएका छन्।
सडक विभागको प्रारम्भिक अनुमानअनुसार विपद्बाट सडकमा ८० देखि ९० करोड रुपैयाँ बराबरको क्षति भएको छ। पुनर्निर्माणमा करिब तीन अर्ब रुपैयाँ लाग्न सक्ने अनुमान गरिएको छ। आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले यस वर्षको विपद्ले आयोजना सुरु भएयताकै सबैभन्दा ठूलो क्षति पुर्याएको बताए।
रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्त्वपूर्ण बनेको छ। सडक खुल्ने प्रतीक्षामा चीनबाट सामान बोकेका करिब ५०० कन्टेनर रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए। मुस्ताङको स्याउ बजार पठाउने, दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा झार्ने र पर्यटकीय याम सुरु हुने समय नजिकिएकाले सडक छिटो सञ्चालन गर्न दबाब बढेको छ।





