कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान, तीन स्थानमा केन्द्र

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिले मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्मका लागि तय गरेको छ। वर्षा र प्राविधिक कारणले यसअघि तोकिएको समयभन्दा तीन घण्टा ढिलो मतदान हुन लागेको हो।
महाधिवेशनका ७ हजार २५५ प्रतिनिधिले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य चयन गर्न मत दिनेछन्। मतदानका लागि काठमाडौंका तीन स्थानमा सात केन्द्र तोकिएका छन्—राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवन।
बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभागृहमा मतदान गर्नेछन्। कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधि तथा भ्रातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिका लागि खुलामञ्चमा केन्द्र राखिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले प्रज्ञा भवनमा मतदान गर्नेछन्।
मतदानस्थलमा प्रवेश गर्दा परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान पाइने छैन। मतदान सकिएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
महाधिवेशनले विधान संशोधन गरी कांग्रेसको केन्द्रीय कार्यसमितिलाई २९७ सदस्यीय बनाएको छ।





