थोराङ्ला पास जाने पदमार्गको हिउँ हटाइयो

ड्रागन मिडिया सम्वाददाता
मनाङ — चक्रीय अन्नपूर्ण पदमार्गको थोराङ्ला पास जाने बाटोमा जमेको हिउँ हटाइएको छ। असोज ८ देखि ११ गतेसम्मको वर्षासँगै भएको हिमपातले पदमार्गमा बाक्लो हिउँ जम्दा पदयात्री र स्थानीयको आवागमन प्रभावित भएको थियो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, टंकीस्थित अस्थायी प्रहरी पोस्ट र स्थानीय होटल व्यवसायीको समन्वयमा हिउँ पन्छाइएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद रेग्मीको नेतृत्वमा खटिएको टोलीले ४,९२५ मिटर उचाइको हाइक्याम्प आसपासको पदमार्ग र होटल परिसर सफा गरेको थियो।
हिउँ हटाएपछि थोराङ्ला पासतर्फको यात्रा सहज भएको प्रहरीले जनाएको छ। तर हिमपातपछि बाटो चिप्लो र जोखिमपूर्ण हुन सक्ने भएकाले यात्राअघि मौसम तथा पदमार्गको अवस्था बुझ्न प्रहरीले पदयात्री र पर्यटकलाई आग्रह गरेको छ।
समुद्री सतहदेखि ५,४१६ मिटर उचाइमा रहेको थोराङ्ला पास चक्रीय अन्नपूर्ण पदमार्गको प्रमुख गन्तव्यमध्ये एक हो।





