२२ आश्विन २०८३, बिहीबार

नेप्सेमा ‘डेथ क्रस’, बैंकिङ सूचकमा ‘गोल्डेन क्रस’

ड्रागन मिडिया सम्वाददाता

बुधबार समग्र सेयर बजार घट्दा वाणिज्य बैंक समूहको सूचक भने बढेको छ। नेप्से परिसूचक ६ अंकले घटेर २,५७२ विन्दुमा झरेको दिन बैंकिङ समूह १.७३ अंकले बढेर १,४९५ विन्दुमा पुगेको थियो।

प्राविधिक विश्लेषणमा देखिएका संकेतले पनि समग्र बजार र बैंकिङ समूहको प्रवृत्तिमा भिन्नता देखाउँछन्। नेप्सेमा ५० दिने औसत रेखा २०० दिने रेखाभन्दा तल रहेकाले ‘डेथ क्रस’को अवस्था छ। यसको विपरीत, बैंकिङ समूहको ५० दिने औसत रेखा २०० दिने रेखाभन्दा माथि छ र समूहको सूचक दुवै रेखाभन्दा माथि कारोबार भइरहेको छ। यसलाई बैंकिङ समूह तुलनात्मक रूपमा बलियो रहेको संकेतका रूपमा हेरिएको छ।

५० दिने औसत रेखाले तलबाट उकालो लागेर २०० दिने रेखा काटी माथि पुगेमा ‘गोल्डेन क्रस’ र माथिबाट तल झरेमा ‘डेथ क्रस’ भनिन्छ। पहिलो संकेतलाई बजारमा बढ्दो र दोस्रो संकेतलाई घट्दो प्रवृत्तिसँग जोडेर हेरिन्छ। बैंकिङ समूहमा केही समयअघि ‘गोल्डेन क्रस’ बनेपछि सूचक बढेको थियो। गत फागुनमा १,३५० विन्दुबाट उक्लिएको समूहले पछिल्लो समय १,५०० विन्दुलाई प्रतिरोधका रूपमा परीक्षण गरिरहेको छ।

नेप्सेमा भने गत साउनमा प्रवृत्ति बदलिएपछि ‘डेथ क्रस’ देखिएको थियो। तर चलायमान औसत विगतको कारोबारमा आधारित हुने भएकाले यसले बजारको दिशा केही ढिलो देखाउन सक्छ। त्यसैले एउटा प्राविधिक संकेतलाई मात्र आधार बनाएर आगामी बजार प्रवृत्तिको निष्कर्ष निकाल्न सकिँदैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button