असोज २४ सम्म सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित, बजेट अन्योलमा

ड्रागन मिडिया सम्वाददाता
सुदूरपश्चिम प्रदेश सभाको बैठक असोज २४ गते बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ। बैठक सरेसँगै चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने प्रक्रिया पनि थप पछाडि धकेलिएको छ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार बिहीबार बिहान ८ बजे बस्ने तय भएको बैठक अब असोज २४ गतेका लागि बोलाइएको छ। बुधबार साँझका लागि निर्धारित बैठक पनि अन्तिम समयमा स्थगित गरी बिहीबार बिहान सारिएको थियो।
करिब तीन महिनादेखि बजेटविहीन प्रदेश सरकारले अघिल्लो सरकारले प्रस्तुत गरेको बजेट पुनर्लेखन गरी सदनमा ल्याउने तयारी गरेको थियो। तर बजेटसम्बन्धी विवादमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेपछि सरकार बजेट प्रस्तुत गर्ने विषयमा अन्योलमा परेको छ।
अधिवक्ता मनिराम उपाध्यायले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बुधबार कारण देखाऊ आदेश जारी गरेको थियो। अन्तरिम आदेशबारे छलफल गर्न अदालतले शुक्रबार दुवै पक्षलाई बोलाएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि अन्तरिम आदेश नआएसम्म बजेट प्रस्तुत गर्न बोलाइएको बैठक बहिष्कार गर्ने जनाएको छ। निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले यस्तो बताएका हुन्।





