एमाले स्थायी कमिटी बैठक आज, विद्या भण्डारी पहिलोपटक सहभागी हुँदै

ड्रागन मिडिया सम्वाददाता
नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारी वरिष्ठ नेताका रूपमा पहिलोपटक सहभागी हुने पार्टीका प्रचार प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्।
एमाले केन्द्रीय कमिटीले सबै पदाधिकारीलाई स्थायी कमिटीमा राख्ने र थप सात जनालाई मनोनयन गर्ने निर्णय गरेपछि बैठक बोलाइएको हो। वरिष्ठ नेताका रूपमा मनोनित भण्डारी यसै बैठकबाट स्थायी कमिटीमा सहभागी हुन लागेकी हुन्।
पदाधिकारीबाहेक स्थायी कमिटीमा पूर्ववरिष्ठ नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाङ्फे थपिएका छन्।
केन्द्रीय कमिटीले प्रत्यायोजन गरेको अधिकार प्रयोग गर्दै बैठकले विभिन्न तह र विभागका जिम्मेवारी बाँडफाँट गर्ने तयारी छ। केन्द्रीय सदस्य, पोलिटब्युरो तथा स्थायी कमिटीका थप सदस्य र ज्येष्ठ कम्युनिस्ट मञ्चसहित विभिन्न विभागका सदस्यहरूको जिम्मेवारीबारे निर्णय हुने बताइएको छ।





