झिरिनोभ्स्कीका पूर्वानुमान सही साबित भएको छोरीको दाबी

ड्रागन मिडिया समाचार कक्ष
रुसी नेता भ्लादिमिर झिरिनोभ्स्कीकी छोरी बोत्सान–खार्चेन्कोले आफ्ना पिताले गरेका केही पूर्वानुमान विशेष रूपमा सही साबित भएको दाबी गरेकी छन्। उनले रुसी समाचार संस्था ताससँगको कुराकानीमा झिरिनोभ्स्कीका विदेशनीतिसम्बन्धी धारणा र क्षेत्रीय द्वन्द्वबारेका चेतावनीको स्मरण गरेकी हुन्।
उनका अनुसार झिरिनोभ्स्कीले तत्कालीन रुसी नेतृत्वले पश्चिमतर्फ मात्र केन्द्रित गरेको विदेशनीतिको आलोचना गर्दै पूर्व र दक्षिणका देशसँग सैन्य सहकार्य तथा आर्थिक साझेदारी खोज्नुपर्ने बताउँथे। उनले नेटोले बाल्टिक क्षेत्र, ककेसस, मध्य एसिया र मोल्दोभामार्फत रुससँग युद्ध गर्ने योजना बनाएको दाबीसमेत गरेका थिए।
बोत्सान–खार्चेन्कोका अनुसार झिरिनोभ्स्कीले युगोस्लाभियाको घटनाक्रमजस्तै ढाँचामा पश्चिमी देशहरूले रुस–युक्रेन द्वन्द्व चर्काउने र त्यसले सीमावर्ती क्षेत्रमा समेत सैन्य कारवाही निम्त्याउन सक्ने चेतावनी दिएका थिए। रुसलाई एक्ल्याउने प्रयास हुन सक्ने विषयमा पनि उनले ध्यानाकर्षण गराएको उनको भनाइ छ।
उनले झिरिनोभ्स्कीले इरान–इजरायल द्वन्द्व गम्भीर रूपमा चर्किने, मध्यपूर्वभर तनाव बढ्ने र भेनेजुएलाप्रति अमेरिकाको राजनीतिक दबाब तीव्र हुने आकलन गरेको पनि बताइन्।





