साझा राष्ट्रिय संकल्पबाट मात्रै समृद्धि सम्भव : राष्ट्रपति पौडेल

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण राज्य, निजी क्षेत्र र समाजको साझा प्रयासबाट मात्रै सम्भव हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरूसँगको भेटमा उनले निजी क्षेत्रले जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
पौडेलले अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीच विश्वासपूर्ण सहकार्य आवश्यक रहेको बताए। महासंघमा आबद्ध १४ लाखभन्दा बढी व्यवसायीको प्रगति देशको आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारसँग जोडिएको उनको भनाइ थियो।
उनका अनुसार सरकारले नीतिगत स्थिरता, लगानी सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्नुपर्छ। निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी विस्तारमा योगदान बढाउनुपर्ने उनले बताए।
राष्ट्रपतिले आगामी प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने, रोजगारी सिर्जना गर्ने र नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता बढाउने विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिए।





