नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग

ड्रागन मिडिया सम्वाददाता
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री पेनी वङबीच मेलबर्नमा भएको भेटवार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्ध सुदृढ बनाउने र पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
दुवै मन्त्रीले लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान र जनस्तरको सम्बन्धमा आधारित दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरे। आगामी दिनमा सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि उनीहरूले जोड दिए।
भेटमा विदेशमन्त्री वङले नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति दुःख व्यक्त गर्दै उद्धार, प्रारम्भिक पुनर्लाभ र पुनःनिर्माणका प्रयासमा अस्ट्रेलियाको साथ रहने बताइन्। उनले विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरिन्।
यसअघि अस्ट्रेलियाले आपतकालीन प्रतिकार्यका लागि ११ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। नयाँ सहयोग राहत र प्रारम्भिक पुनर्लाभका काममा केन्द्रित रहनेछ।
परराष्ट्रमन्त्री खनालले विपद्का बेला अस्ट्रेलिया सरकार र त्यहाँका जनताबाट प्राप्त शीघ्र तथा उदार मानवीय सहयोगप्रति आभार व्यक्त गरे। उनले संकटका समयमा व्यक्त ऐक्यबद्धताले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप बलियो बनाएको बताए।
भेटवार्तामा जलवायु परिवर्तनका कारण नेपाल र प्रशान्त क्षेत्रका मुलुकले सामना गरिरहेका साझा जोखिमबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।





