भाडादरबारे भ्रामक सूचना फैलिएको भन्दै बुद्ध एयरको आपत्ति

ड्रागन मिडिया सम्वाददाता
बुद्ध एयरले हवाई भाडादरबारे सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा फैलिएका सामग्रीप्रति आपत्ति जनाएको छ। तस्बिर सम्पादन तथा कृत्रिम बुद्धिमत्ता प्रयोग गरी गलत भाडादर देखाउने सामग्री सार्वजनिक भएको भन्दै कम्पनीले अपुष्ट सूचनामा विश्वास नगर्न यात्रुलाई आग्रह गरेको छ।
कम्पनीका अनुसार एकतर्फी उडानको न्यूनतम भाडा १० हजार ८ सय रुपैयाँ कायम छ र उक्त दरका धेरै उडानका टिकट बिक्री भइसकेका छन्। बाढीपहिरोपछि सडक आवागमन अवरुद्ध हुँदा यात्रुलाई राहत दिन न्यूनतम भाडादर कायम गरिएको तथा सडक सञ्जाल सामान्य नहुन्जेल र दसैँ–तिहारसम्म सहुलियतमा सेवा दिने प्रतिबद्धताअनुसार उडान भइरहेको विज्ञप्तिमा उल्लेख छ।
तोकिएकोभन्दा बढी रकम लिएर टिकट बिक्री गर्ने व्यक्ति वा यात्रु सेवा संस्थामाथि प्रचलित कानुनअनुसार कारवाही हुन सक्ने चेतावनी पनि कम्पनीले दिएको छ। यात्रुको चाप बाहिरिने उडानमा बढी र फर्किने उडानमा कम भएकाले राजधानी फर्कने यात्रुका लागि वेबसाइट तथा मोबाइल अनुप्रयोगमार्फत विशेष छुट उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
भाडादर र टिकटसम्बन्धी जानकारीका लागि आधिकारिक वेबसाइट तथा मोबाइल अनुप्रयोग मात्र प्रयोग गर्न बुद्ध एयरले आग्रह गरेको छ।





