गाजाबारे वृत्तचित्रमा देखिएका सैनिकमाथि आपराधिक अनुसन्धान गर्न नेतन्याहुको माग

ड्रागन मिडिया समाचार कक्ष
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा प्यालेस्टिनी नागरिकको हत्याबारे बनेको ‘नाजा’ वृत्तचित्रमा सहभागी सैनिकहरूको पहिचान गरी उनीहरूमाथि अनुसन्धान र कारवाही गर्न माग गरेका छन्।
आइतबार सैनिक प्रमुख, आन्तरिक सुरक्षा निकाय सिन बेटका प्रमुख र महान्यायाधिवक्तालाई पठाएको पत्रमा नेतन्याहुले वृत्तचित्रका सहभागीहरूले अति गोप्य सूचना सार्वजनिक गरेको आरोप लगाएका छन्। उनले संलग्न सबै व्यक्तिको पहिचान गर्न र सुरक्षा सूचना चुहावट, आपराधिक मानहानि तथा राज्य र सुरक्षा हितमा क्षति पुर्याएको आरोपमा अनुसन्धान अघि बढाउन आग्रह गरेका छन्।
‘नाजा’ मा इजरायली सेना र सैनिक गुप्तचर सेवाका २४ जना सदस्यसँग उनीहरूको पहिचान गोप्य राखेर अन्तर्वार्ता गरिएको छ। उनीहरूमध्ये विशिष्ट सैनिक गुप्तचर एकाइ ८२०० का सदस्य पनि छन्। गार्जियनले निर्माण गरेको र युवाल अब्राहम तथा राचेल सोरले निर्देशन गरेको ८० मिनेट लामो वृत्तचित्रले भेनिस चलचित्र महोत्सवको विशेष निर्णायक पुरस्कार जितेको थियो।
इजरायली सेनाको भाषामा ‘नाजा’ को अर्थ ‘सहायक क्षति’ हो। वृत्तचित्रले गाजामा आक्रमणका लक्ष्य कसरी छनोट र स्वीकृत गरिन्छन्, कृत्रिम बुद्धिमत्तामा आधारित प्रणाली कसरी प्रयोग हुन्छन् र आक्रमणअघि नागरिकको सम्भावित मृत्यु कसरी अनुमान गरिन्छ भन्ने विषय समेटेको छ।
संयुक्त राष्ट्रसंघीय अनुसन्धान आयोगले सन् २०२५ मा इजरायलले गाजामा नरसंहार गरेको निष्कर्ष निकालेको थियो। आयोगले यस वर्ष पनि उक्त निष्कर्ष दोहोर्याएको छ। इजरायलले भने आरोप अस्वीकार गर्दै आएको छ।





