ट्रम्पको टिप्पणीपछि युक्रेनलाई पूर्ण समर्थन जनाउँदै ईयूले थप सैन्य सहायता दिने

ड्रागन मिडिया समाचार कक्ष
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युक्रेनलाई क्षेप्यास्त्र र मानवरहित विमान खरिद गर्न यस साता थप रकम उपलब्ध गराउने बताएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नयाँ राष्ट्रपति आवश्यक रहेको टिप्पणी गरेपछि उनले भोलोदिमिर जेलेन्स्कीप्रति पूर्ण समर्थन पनि व्यक्त गरेकी छन्।
जेलेन्स्कीसँगको टेलिफोन वार्तापछि सामाजिक सञ्जाल एक्समा लेख्दै भोन डेर लेयेनले युक्रेनी जनतासँग ऐक्यबद्धता जनाएकी छन्। यस साताको युरोपेली परिषद् बैठकमा युक्रेनको आगामी वर्षको वित्तीय आवश्यकता र थप अन्तर्राष्ट्रिय सहयोग जुटाउने विषयमा छलफल हुने उनले बताएकी छन्।
युक्रेनको प्रतिरक्षा सुदृढ गर्न र आकाशको सुरक्षा गर्न युरोपेली संघले थप रकम उपलब्ध गराउने उनको भनाइ छ। साथै, युक्रेनको युरोपेली संघ सदस्यता वार्तामा थप दुई समूह खोल्ने तयारी भइरहेको उनले जनाएकी छन्।
ट्रम्पले यसअघि युक्रेनले राष्ट्रपति परिवर्तन गर्नुपर्ने बताएका थिए। जेलेन्स्कीले सम्झौता गर्न सक्ने भए पनि त्यसो नगरेको भन्दै उनले युक्रेनलाई सम्झौता गर्न सक्ने नयाँ नेता खोज्न आफूले सल्लाह दिने बताएका थिए।
रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले यसअघि मस्कोले दशकौँसम्म टिक्ने समाधानतर्फ लैजाने युक्रेन द्वन्द्वको व्यापक निरुपण चाहेको बताएका थिए।





