ऊर्जा संरचनामाथि आक्रमण रोक्ने सहमति भएको ट्रम्पको दाबी, किएभले माग्यो विवरण

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन ऊर्जा संरचनामाथि आक्रमण रोक्न सहमत भएको दाबी गरेका छन्। उनले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा सहमति तत्काल लागू हुने लेख्दै दुवै पक्षलाई त्यसको उल्लङ्घन नगर्न चेतावनी दिएका छन्।
“रुस र युक्रेनबीचको युद्धमा तत्कालदेखि ऊर्जा युद्धविराम लागू भएको छ। दुवै पक्ष सहमत भएका छन्। यसको उल्लङ्घन नगर्नुहोस्,” ट्रम्पले लेखेका छन्। उनले सहमति कसरी भएको हो, कुन संरचनालाई यसले समेट्छ वा कार्यान्वयनको निगरानी कसले गर्ने भन्ने विवरण भने दिएका छैनन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पको घोषणालाई स्वागतयोग्य भने पनि सहमतिबारे आफूलाई पहिले जानकारी नभएको र यसको विस्तृत विवरण पर्खिरहेको बताएका छन्। उनले रुसले युक्रेनी ऊर्जा संरचनामाथिका आक्रमण रोकेमा युक्रेनले पनि रूसी ऊर्जा संरचनालाई निशाना नबनाउने बताएका छन्।
ट्रम्पको घोषणापछि पनि युक्रेनका विभिन्न क्षेत्रमा रूसी ड्रोन र निर्देशित बमबाट आक्रमण भएको जेलेन्स्कीले बताएका छन्। किएभका अधिकारीहरूले ऊर्जा संरचनामा आक्रमण जारी रहेको जनाएका छन्। यसले युद्धविराम कार्यान्वयनमा आएको हो वा होइन भन्ने प्रश्न उठाएको छ।
मस्कोले ट्रम्पको घोषणाबारे तत्काल औपचारिक प्रतिक्रिया दिएको छैन। दुवै पक्षको सहमति र युद्धविरामको शर्तबारे स्पष्ट आधिकारिक विवरण नआएसम्म ऊर्जा संरचनामाथिका आक्रमण रोकिएको निष्कर्ष निकाल्न सकिने अवस्था छैन।





