प्राचार्यमाथि कुटपिटको आरोपमा दुई जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता
बूढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्राचार्य विनोद पण्डितमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय निशान दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरे छन्। उनीहरूलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए।
विद्यार्थी भर्नासम्बन्धी विवादका क्रममा प्राचार्य पण्डितमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। भर्नाको म्याद सकिएको जवाफ प्राचार्यले दिएपछि विवाद भएको बताइएको छ।
विद्यालय परिसरमै प्राचार्यमाथि कुटपिट गरिएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो। सार्वजनिक दृश्यमा एक युवकले विवादपछि पण्डितमाथि मुक्का र लात्ती प्रहार गरेको देखिन्छ। शिक्षा तथा खेलकुद मन्त्रालयले पनि घटनालाई गम्भीर रूपमा लिएको थियो।





