२६ आश्विन २०८३, सोमबार

भसभसेमा सडक भासिँदा यातायात प्रभावित

ड्रागन मिडिया सम्वाददाता

म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेमा सडक भासिएपछि बागलुङ–बेनी सडकमा यातायात सञ्चालन गर्न कठिन भएको छ। पहिरोले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक मार्ग अवरुद्धजस्तै बनेको छ।

असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि म्याग्दी र कालीगण्डकी नदीको दोभाननजिक बाढीले सडक कटान गरेको थियो। त्यसयता सडक भासिने र बग्ने क्रम जारी छ। करिब एक सय मिटर सडक साविकको सतहभन्दा दुईदेखि तीन मिटर तल दबिएको स्थानीय कमल सुवेदीले बताए। हिलोमा गाडी फस्ने, उकालो चढ्न नसक्ने र साँघुरो सडकमा लामो जाम लाग्ने गरेको छ। दुर्घटनाको जोखिमसमेत बढेको छ।

पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि बागलुङ, रुकुम पूर्व–पश्चिम र जाजरकोटबाट पोखरा तथा काठमाडौँ जाने–आउने सवारीसाधनले पनि बागलुङ–बेनी–मालढुङ्गा सडक प्रयोग गरिरहेका छन्। सवारी चाप बढेकाले घण्टौँ जाम हुने गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा सडक डिभिजन कार्यालय बागलुङले भसभसे पहिरोको भूमिगत पानी व्यवस्थापन र हिलो हुने ठाउँमा ढलान गरेको थियो। तर अहिले ढलान गरिएको सडकसमेत भासिएको छ। सडकमा ग्राभेल राखे पनि माटो दबिएर अर्को दिन नै समस्या दोहोरिने गरेको जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले बताइन्। फसेका सवारीसाधनलाई डोजरको सहयोगमा निकाल्ने गरिएको छ।

भसभसे पहिरोका कारण खबर गाउँसमेत जोखिममा परेको छ। म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पक्की पर्खालसहित तटबन्ध निर्माण गर्ने र पहिरोग्रस्त सडकको सतह मिलाएर पक्की बनाउने पहल भइरहेको खत्रीले बताइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button