दबाबमुक्त रहेर अपराध अनुसन्धान गर्न प्रहरी निरीक्षकलाई प्रधानमन्त्रीको निर्देशन

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूह पूरा गरी सेवामा प्रवेश गर्न लागेका अधिकृतलाई राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट मुक्त रहेर अपराध अनुसन्धान गर्न निर्देशन दिनुभएको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित दीक्षान्त समारोहमा उहाँले नेपाल प्रहरीको छवि उच्च राख्न इमानदारी, अनुशासन, पेशागत मर्यादा र नैतिकता कायम गर्नुपर्ने बताउनुभयो। करिब १६ महिनाको तालिम पूरा गरेका अधिकृतलाई बधाई दिँदै उहाँले बदलिँदो अपराधको प्रकृतिअनुसार सूचना प्रविधिको उचित उपयोग गर्न पनि आग्रह गर्नुभयो।
प्रहरी संगठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताउनुभयो। संगठनको मर्यादाविपरीतका स्वार्थ र अनुचित प्रभावमा नपरी निर्भीकतापूर्वक कर्तव्य निर्वाह गर्न उहाँले अधिकृतलाई सचेत गराउनुभयो।
नागरिकको जिउधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा कुनै सम्झौता नगर्न उहाँले आग्रह गर्नुभयो। कार्यक्रममा प्रशिक्षार्थीका अभिभावक तथा प्रहरी नेतृत्वको उपस्थिति थियो। तालिम पूरा गरेका अधिकृतहरू अब देशका विभिन्न भागमा खटिनेछन्।





