सुनारसम्बन्धी उजुरीका कागजात मगाउन संसदीय समितिको निर्देशन

ड्रागन मिडिया सम्वाददाता
साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध परेको उजुरीबारे सम्बन्धित कागजात उपलब्ध गराउन संसदीय विशेष सुनुवाइ समितिले निर्देशन दिएको छ।
विवाहपछि अवैध सम्बन्ध राखेको आरोप लगाउँदै सुनारविरुद्ध समितिमा उजुरी परेको थियो। सोमबार उजुरीकर्तासँग छलफल गरेपछि समितिले उजुरीमा उल्लेखित घटनासम्बन्धी कागजात मगाउने निर्णय गरेको हो।
सुनार यौनसम्बन्धी मामिलामा मुछिएको आरोपमा जर्मनीबाट निष्कासन गरिएको भन्ने विवरण पनि समितिमा आएको स्रोतले जनाएको छ। त्यस्तै, विवाहपछि अवैध सम्बन्ध राखेको आरोपमा ललितपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको र सहमतिमा टुङ्गिएको जानकारी प्राप्त भएको समितिका एक सदस्यले बताए।
यी विवरणको आधिकारिकता जाँच्न सम्बन्धित कागजात मगाउने निर्णय गरिएको समितिका ती सदस्यले जानकारी दिए। समितिले कागजात प्राप्त गरेपछि उजुरीमा उठाइएका विषयबारे थप अध्ययन गर्नेछ।





