२६ आश्विन २०८३, सोमबार

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा

ड्रागन मिडिया सम्वाददाता

नवरात्रको दोस्रो दिन सोमबार घरघरका पूजाकोठा, दसैँघर र देशभरका शक्तिपीठमा नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।

नवरात्रको पहिलो दिन आइतबार घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यस दिन नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको पूजा गरिएको थियो। सोमबार घटस्थापना गरिएको स्थानमा ब्रह्मचारिणी देवीको आह्वान गरी पूजा गरिन्छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको ठाउँमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्ने परम्परा छ। देवीको आराधनाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा गर्छन्।

नौ दिनको पूजा आराधनापछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसादस्वरूप टीका र जमरा लगाइन्छ। सच्चिदानन्द ब्रह्मको बोध गराउन निरन्तर साधनामा लाग्ने देवीका रूपमा नवदुर्गाकी दोस्री देवीलाई ब्रह्मचारिणी भनिएको धार्मिक मान्यता छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा दर्शन र पूजाका लागि भक्तजनको भीड लागेको छ। हनुमानढोका दरबारस्थित दसैँघरमा पनि राज्यका तर्फबाट ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button