सुंग्चुमा पहिलोपटक कालो गर्दन भएको सारसको दृश्य अभिलेख

ड्रागन मिडिया समाचार कक्ष
चीनको सिचुआन प्रान्तस्थित सुंग्चु जिल्लाको दम्दे क्षेत्रमा दुई वटा कालो गर्दन भएका सारस घाँसे मैदानमा आहारा खोज्दै गरेको दृश्य पहिलोपटक अभिलेख गरिएको छ।
चरन क्षेत्रको नियमित गस्तीमा रहेका स्थानीय अधिकारीहरूले सारस देखेपछि मोबाइलबाट तिनको दृश्य खिचेका थिए। जिल्लाको दम्दे क्षेत्रमा यी चराको गतिविधि अभिलेख गरिएको यो पहिलो दृश्य सामग्री भएको जनाइएको छ।


दम्दे क्षेत्र पहेँलो नदीको माथिल्लो तटीय भेगको महत्त्वपूर्ण पारिस्थितिक संरक्षण क्षेत्रभित्र पर्छ। यो उच्च हिमाली क्षेत्रका वन्यजन्तु र वनस्पतिको आवागमन, विश्राम र बासस्थानका लागि महत्त्वपूर्ण मानिन्छ।
पछिल्ला वर्षमा सुंग्चु जिल्लाले पहेँलो नदी जलाधारको पारिस्थितिक संरक्षण र पुनःस्थापना, चरन व्यवस्थापन तथा घाँस र पशुधनबीच सन्तुलन कायम गर्ने काम अघि बढाएको छ। दुर्गम चरनभूमि, घाँसे मैदान र सिमसार क्षेत्रको नियमित अनुगमन तथा संरक्षण गर्दै वन्यजन्तुको बासस्थानमा क्षति पुर्याउने र तिनलाई बाधा गर्ने गतिविधि रोक्ने प्रयास गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।
दुई सारसले घाँसे मैदानमा आहारा खोज्दै गरेको दृश्यले दम्दे क्षेत्रको पारिस्थितिक अवस्था सुधारिँदै गएको र जैविक विविधता बढिरहेको सङ्केत गर्ने अधिकारीहरूको भनाइ छ। अभिलेख गरिएको दृश्यले वन्यजन्तुको अवस्थाबारे अध्ययन र पारिस्थितिक अनुगमनका लागि उपयोगी सामग्रीसमेत उपलब्ध गराएको छ।





